दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ ।
गुराँस गाउँपालिकाको आयोजनामा तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.) को सहजीकरणमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रतिबद्धताहरू सार्वजनिक गरिएको हो। प्रतिबद्धताहरू सार्वजनिक सेवाको प्रभावकारिता, पहुँच तथा गुणस्तर अभिवृद्धि गर्ने विषयमा केन्द्रित रहेका छन् ।
सार्वजनिक सुनुवाइका क्रममा गाउँपालिकाले कानुन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड तथा अन्य कानुनी दस्तावेजहरू गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत नियमित रूपमा सार्वजनिक गर्ने तथा त्यस्ता सूचनामा नागरिकहरूको सहज र व्यापक पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यसैगरी, निर्माण कम्पनीबाट १५ शय्याको अस्पताल भवन औपचारिक रूपमा हस्तान्तरण भएपछि तत्कालै मापदण्डअनुसारको स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा स्वीकृत दरबन्दीअनुसार आवश्यक स्वास्थ्यकर्मीको पदपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ ।
गाउँपालिकाले विद्यालयहरूमा बालमैत्री बसाइ तथा सिकाइसम्बन्धी गतिविधिलाई निरन्तरता दिने, नागरिकहरूले विद्युत् सेवा शुल्क सहज रूपमा भुक्तानी गर्न सक्ने सुविधाजनक व्यवस्था मिलाउने तथा विद्यालय तहमा शिक्षण–सिकाइ क्रियाकलापलाई थप व्यावहारिक, गुणस्तरीय तथा प्रभावकारी बनाउन आवश्यक कार्यक्रम निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
यसैगरी, धरमपोखरास्थित गुराँस कृषि क्याम्पसको भवन निर्माण सम्पन्न भइसकेकाले त्यहाँ प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न पहल गर्ने तथा गुराँस प्राइड सडकको स्तरोन्नति कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा प्रमुख जवाफदेही वक्ता टोपबहादुर बी.सी. ले नागरिकबाट प्राप्त सुझाव तथा गुनासा, कार्यक्रमका क्रममा सङ्कलन गरिएको नागरिक मत सर्वेक्षण तथा सेवा ग्रहणपश्चात् प्राप्त प्रतिक्रिया (Exit Feedback) का निष्कर्षलाई आधार बनाई आगामी आर्थिक वर्षमा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण सी.पी. शर्माले गर्नुभएको थियो भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) को गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्का, वडा अध्यक्षहरू, विषयगत समितिका संयोजकहरू, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरू तथा अन्य सरोकारवालाहरू को सहभागिता रहेको थियो ।