बाँके जिल्लास्थित नरैनापुर गाउँपालिकाले आफ्नो नीति, कार्यक्रम, संस्थागत व्यवस्था तथा सेवा प्रवाह प्रणाली कत्तिको समावेशी छन् भन्ने मूल्याङ्कन गर्ने उद्देश्यले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण सम्पन्न गरेको छ ।
नरैनापुर गाउँपालिकाको आयोजनामा तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.) को सहजीकरणमा उक्त परीक्षणसम्बन्धी कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशाला नेपाल सरकारद्वारा जारी लैङ्गिक परीक्षण कार्यविधि, २०८० बमोजिम सञ्चालन गरिएको थियो ।
नेपाल सरकारको प्रचलित व्यवस्थाअनुसार स्थानीय तहहरूले लैङ्गिक समानता, अपाङ्गता समावेशीकरण तथा सामाजिक समावेशीकरणको अवस्था मूल्याङ्कन गर्न प्रत्येक वर्ष GEDSI परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ। यस परीक्षणअन्तर्गत स्थानीय तहका नीति, योजना, कार्यक्रम, संस्थागत संरचना, मानव संसाधन, क्षमता विकासका पहल, सेवा प्रवाहका संयन्त्र, शासकीय अभ्यास तथा जवाफदेहिताका प्रणालीहरूको समग्र मूल्याङ्कन गरिन्छ । साथै, आगामी दिनमा लैङ्गिक समानता, अपाङ्गता समावेशीकरण तथा सामाजिक समावेशीकरणलाई थप प्रभावकारी बनाउन आवश्यक प्राथमिकता तथा सुधारका क्षेत्रहरू पहिचान गरिन्छ ।
GEDSI परीक्षणसम्बन्धी कार्यशालामा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, गाउँपालिकाका विभिन्न शाखा तथा महाशाखाका प्रमुखहरू तथा अन्य सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उक्त GEDSI परीक्षण प्रक्रियाको सहजीकरण स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.) का चन्द्रप्रकाश शर्माले गर्नुभएको थियो ।
मितिः
१९ जुन २०२६